सार्वजनिक सुरक्षा ऐन २०७५ संशोधन सहित पारित

title
बिहिबार, साउन २४, २०७५

काठमाडौ । संसदीय समितिले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई पारित गरेको छ ।

सिंहदरबारमा बिहिवार बसेको प्रतिनिधीसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकले सार्वजनिक ऐन, २०४६ लाई संशोधन गर्न बनेको सार्वजनिक सुरक्षा ऐन २०७५ लाई संशोधनसहित पारित गरेको हो ।

उक्त विधेयकमा सांसद संजयकुमार गौतमले राख्नुभएको संसोधन, छलफलपछि विधेयकमै समावेश गरिएको छ । विधेयकमाथि छलफल गर्न समितिले गृहमन्त्री रामवहादुर थापा, गृहसचिव र कानुनसचिवलाई समितिमा बोलाएको थियो । बैठकमा गृहमन्त्री थापाले काठमाडौंको काँडाघारीमा बालकको अपहरणपछि हत्या र अपहरणकारीको इन्काउण्टरबारे सरकारले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी गराउनुभएको थियो ।

त्यस्तै उहाँले सीमा क्षेत्रमा भारतले अनाधिकृत रुपले बाँध निर्माण गरिरहेको विषयमा पनि सरकारले छिट्टै धारणा सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले काँडाघारीमा भएको बालक हत्या बारेमा गृहमन्त्रीसंग प्रश्न गरेका थिए ।