सिके रावतका पाँच कार्यकर्ता पक्राउ

title
शुक्रबार, अशोज १९, २०७५

बाँके । प्रहरी हिरासतमा बेहोस भई उपचारको क्रममा मृत्यु भएका सिके रावतका कार्यकर्ता राममनोहर यादवको घटनालाई लिएर चक्काजाम गर्ने प्रयास गरेका पाँच जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगञ्जको चौलिक्काचोक र गनापुरमा बसेर सडक अवरुद्ध गर्ने प्रयास गरेका पाँच जनालाई नेपालगञ्ज र कोहलपुर प्रहरीले नियन्त्रणमा लिएका हुन् । चौलिक्काचोकमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका अनबर खानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीसँगै रहेका अर्का एकजना भने प्रहरीलाई देखेपछि भागेका छन् ।
त्यस्तै, गनापुरमा बसेर सडक अवरुद्ध गर्ने प्रयास गरेका चार जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णु यादव, रामकुमार यादव, धनीराम यादव र दिनेश बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ ७ गते बर्दियामा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको भ्रमण हुँदा कालो झण्डा देखाउने प्रयास गरेका राममनोहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बिरामी राममनोहरले प्रहरी हिरासतभित्र रहदा नियमित खाने औषधी नपाएपछि बेहोस भई ढलेका थिए ।
प्रहरीले तत्कालै उपचारका लागि अस्पताल पु¥याएको थियो । बर्दियाबाट बाँकेको नेपालगञ्जसम्म उपचार गरेको प्रहरीले थप उपचारका लागि काठमाडौं पु¥याउदा भदौ १५ गते राममनोहरको मृत्यु भएको थियो । सिके रावतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता राममनोहरको मृत्युलाई लिएर घरपरिवारको अगुवाईमा गठबन्धनका कार्यकर्ताले निरन्तर आन्दोलन गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जमा ज्ञापनपत्र दिनेदेखि धर्ना बस्ने काम गरिसकेका छन् ।
नयाँ कानूनमा सार्वजनिक यातायात अवरुद्ध गर्नेलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । बाँके प्रहरीले पक्राउ परेकाहरुलाई यही कानून अनुसार कारबाही गर्ने तयारी गरेको छ ।
राममनोहरका परिवारले छानबिन समिति बनाउनु पर्ने, शहीद घोषणा गर्नुपर्ने, उनका बालबच्चाको शिक्षा र स्वास्थ्य हेर्नुपर्ने, उपप्रधानमन्त्री यादव, बर्दियाका तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।