सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथः सिया जात्रा मनाइयो

title
सोमवार, बैशाख २, २०७६

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज(सोमवार) विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथः सिया जात्रा मनाएका छन् ।

थिमिको टोल टोलबाट बिभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पुजाआजाका साथ यो जात्रा मनाईएको हो । थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर स्थानीय बाजामा नाच्दै, हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा सबै खट ल्याएर भव्य रुपमा यो जात्रा मनाईन्छ । आज(सोमवार) विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो ।

हिजोदेखि विष्णुबीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।