सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)

title
बिहिबार, भदौ ७, २०७५

काठमाडाैँ । पूर्वएमाले सांसद इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल होम्स प्रा.ली । जसले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हाउजिङ र घरहरु विक्रीगर्दा खरिदकर्तासँग भएको सम्झौता विपरित काम गरिहेको थप रहस्य खुलेको छ । सिभिलले उपत्यकाका विभिन्न स्थानमा फेज १ देखि फेज ९ सम्म निर्माण गरिएका र गर्दै गरेका आवासीय भवनमा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसारको काम भएको छैन ।

नयाँ घर खरिदकर्तालाई सिभिल होम्स पीडितको सुझाव हेर्नुस् यो भिडियो

सिभिल होम्समा घर खरिद गरेर बसेका ९० प्रतिशत घरधनीले अहिले सम्म निर्माण सम्पन्न प्रतिवेदन समेत पाएका छैनन् । यतिमात्र होइन, सम्झौता अनुरुपमको स्वच्छ खानेपानी समेत सिभिल होम्सले दिन सकेको छैन । अर्कातिर बाटो, खुला स्थान सरकारीकरण गर्नुपर्ने भएपनि सिभिलले त्यो नियम मानेको छैन । सर्वसुविधा सम्पन्न भन्दै मोटो रकम असुलेर बेचिएका घरहरुको सम्झौता अनुरुप काम नभएपछि अहिले खरिदकर्ताहरु पीडामा छन् ।

सर्बोच्च अदालतले समेत हस्तान्तरण गरिसकेको कोलोनी भित्रका संरचनामा कोलोनिबासीकै अधिकार हुने फैसला गरेको छ । तर अझैपनि सडक, पार्किङ, स्वमिङपुल, पार्कलगायत खुला ठाउँको लालपुर्जा अहिले पनि सिभिल ग्रुप सँगै छ । समस्या यतिमा मात्र सिमित छैन, भूकम्प प्रतिरोधी भनिएपनि बनेको केही बर्षमै घरहरु आफैं चर्कन थालेका छन् । अर्कातिर सिभिलले घर बेच्ने बेला कम्युनिटी हल दिने, सुरक्षाको राम्रो प्रबन्ध गर्ने भनेर प्रचार गरेपनि खरिदकर्ताले त्यो सुविधा पाउन सकेनन् ।

यति मात्र होइन, सिभिल होम्सले संयुक्त आवास अर्थात हाउजिङ निर्माण गर्दा एउटा हरित क्षेत्र निर्माण गर्ने र हरेक घरमा २ वटा रुख रोप्ने प्रतिवद्धता उपत्यका विकास प्राधिकरणलाई बुझाएको थियो । तर सो प्रतिवद्धताअनुरुप कुनै पनि हाउजिङमा हरित क्षेत्र निर्माण, वृक्षारोपण, र मठ मन्दिर निर्माण क्षेत्र समेत छुट्याईएको छैन । एउटा दुईवटा मात्र समस्या होइन, हरेक कुरामा समस्याआएछि खरिदकर्ताहरु अहिले आजित बनेका छन् ।

सिभिल होम्सको अत्याचारले सिमा नाघेपछि पीडितहरु समिति नै गठन गरेर न्यायका लागि विभिन्न निकाय धाइरहेका छन् । उनिहहरुले चरणबद्ध रुपमा सिभिल व्यवस्थापक सँग छलफल पनि गरे, प्रहरी, प्रशासन मात्र होइन, विभिन्न नियमनकारी निकाय सम्म पनि पुगे तरपनि पीडितको आवाज सुनुवाई भएको छैन ।

अहिले सम्म नियमनकारी निकायले कुनै सुनुवाई नगरेपनि पीडितहरुले हार मानेका भने छैनन् । उनिहरु भन्छन् – हामी न्यायका लागि संगठित भएर लड्छौं । सिभिल होम्सको घर खरिदकर्ताको गुनासो पछि थप वास्तविकता बुझ्नखोजखबर टोली नियमनको जिम्मा लिएर बसेको सरकारी निकाय काठमाडौं उपत्यका विकास प्राधिकरणमा पुग्यो । प्रधिकरण विकास आयुक्त भाइकाजी तिवारी उजुरी आए अनुसन्धान गरेर कारवाही गरिने बताउँछन् ।

हामीले थप बास्तविकता बुझ्न सिभिल ग्रुपका सञ्चालक इच्छाराज तामाङसँग सम्पर्क ग¥यौं । तर, उनि आफू यो विषयमा बोल्न मानेनन् र सूचना अधिकारी भीम खरेलपनि अब कुनै प्रतिक्रिया नदिने भन्दै पन्छिए । हुनपनि पहिले सिभिल होम्सले बेचेका करिव ६ सय घर मध्य ४ सय भन्दा बढी खरिदकर्ता त पीडित नै छन् । पीडितहरु भन्छन् – हामी त फस्यौं फस्यौं अव किन्नेहरुले चाहीं विचार गरेर मात्र अघि बढ्नुहोला ।

सिभिल होम्सको कर्तुतको शृङ्खला यतिमा मात्र सकिदैन, गोदावरीमा सावर्जनिक बाटो नै मिचेर मनपरि ढंगबाट सिभिल आरएमसी उद्योग चलाईरहेको छ । स्रोतका अनुसार, सिभिल होम्सका सञ्चालक ईच्छाराज तामाङको हालीमुहालीबाट पीडित हुनेमा उच्च तह तथा नाम कमाएका व्यक्तिहरु समेत छन् । तर, तामाङको पहुँचका अगाडि कसैले केही बोल्न सकेका छैनन् ।