सीपीएलमा ५० रन खर्चिएर सन्दीपले लिए ५ विकेट

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायमै राखेका छन् ।

प्रतियोगिताको तेस्रो खेलमा सन्दीपले जमाइका विरुद्धको खेलमा दुई विकेट लिएका छन् । आज विहान भएको खेलमा उनले दुई विकेट लिएका हुन् भने यस अघि पनि उनले पहिलो र दोस्रो खेलमा गरी ३ विकेट लिएको थिए । जारी सीपीएलमा हालसम्म सन्दीप पाँच विकेट लिन सफल भएका छन् भने तीनवटै खेल गरेर जम्मा ५० रन खर्चिएका छन् ।

जारी सिपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडीका रुपमा समेत सन्दीप बनेका छन् । आज विहान भएको खेलमा सन्दिपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे । जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दिपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।

पहिलो ओभरमा १० रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा आठ रन दिदै दुई विकेट हात पारे । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे ।