
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए ।
त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् ।
सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् । तर सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने सरकार गठनबारे पार्टी नेतृत्वले कुनै निर्देशन नदिएकाले अहिले केही निर्णय नभएको बताएका छन् ।