सुनकेसरी : भूतको फिल्म, दर्शक तर्साउन नसक्दा डुबे निर्माता

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं । चलचित्र सुनकेसरी युट्युवमा सार्वजनिक भएको पाँच दिन वित्यो । पाँच दिनमा चलचित्रले पुगनपुग ३ लाखको हाराहारीमा मात्र दर्शक पाएको छ । यो अवस्थालाई हेर्ने हो भने चलचित्र न हलमा चल्यो न त युट्युवमा नै भन्दा फरक नपर्ला ।
गत जेठ ११ गते चलचित्र दर्शकमाझ आएको थिए ।

हलमा सार्वजनिक भएको झण्डै पाँच महिनापछि चलचित्रलाई युट्यूवमा सार्वजनिक गरिएको हो । अर्पण थापाले निर्देशन गरेको चलचित्रमा ऋचा शर्मा मुख्य भूमिकामा छिन् । थ्रिलर चलचित्र भनेर प्रचार गरिएको ‘सुनकेसरी’ले दर्शकको मनमा त्रास उत्पन्न गराउन नसकेपछि फलतः चलचित्र हलमा चलेन ।

पाँच दिन अगाडि चलचित्र ‘सुनकेसरी’को युट्युब रिलिज गरियो । युट्युबमा पनि चलचित्रले दर्शक तान्न सकेन । युट्युबमै चलचित्र रिलिज हुनेभए पछि नेपाली दर्शकको ठूलो संख्या अहिले चलचित्र युट्युबमा कुरेर बस्ने गर्छ । जसका कारण युट्युबमा अपलोड गरिएका छोटो समयमै उल्लेख्य भ्युज बटुलेको देखिन्छ । तर यो अनुभव ‘सुनकेसरी’ले भने गर्न पाएको आभाष हुन सकेको छैन ।

सबै देशका दर्शकले हेरुन् भन्ने उद्देश्यले ‘सुनकेशरी’ छिट्टै युट्युबमा अपलोड गरिएको निर्माण पक्षको भनाइ रहेको छ । चलचित्रलाई बिजी इन्टरटेनमेन्ट, ऋचा शर्मा फिल्मस् र द् पिक पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सिनेमामा ऋचासँगै कलाकार रविन्द्र झा, सन्नी ढकाल, लरेन लफ्बर्ग, सुनिल पराजुली, प्रेरणा थापा, भीम न्यौपाने, तमन्ना शर्मा, सावित्री आचार्य लगायतका अभिनय रहेको छ । सामाजिक सञ्जालमा बढी खर्च गरेर दर्शक कुम्ल्याउन दाउ खोज्ने चलचित्रहरु अन्ततः न त हलमा चले न युट्युवमा नै ।