सुरज बैद्यको साझेदार चिनियाँ सिमेन्ट उद्योग हृवासिनले लियो बालकको ज्यान (भिडियो)

title
बुधबार, जेष्ठ ८, २०७६

काठमाडौं–नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्यको अर्गनाइजेशनले धादिङमा सयौं रोपनी खोला मिचेको रहस्य सगरमाथा टेलिभिजनले यस अघि नै उजागर गरिसकेको छ ।

हाम्रो खबरदारीपछि संसदीय समितिदेखि विभिन्न सरकारी निकायले अनुसन्धान गरिहेका छन् । यसअघि वातावरणीय क्षतिका समाचार आएपनि अहिले यही सिमेन्ट कम्पनीको लापरबाहीले मानवीय क्षति पनि हुन पुगेको छ । खोला मिचेर सञ्चालनमा रहेको कम्पनीले एक बालकको ज्यान गरेको रहस्य खुलेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा मलेखु खोला नै कब्जा गरी निर्माण भइरहेको सिमेन्ट उद्योगले मनलागी रुपमा सडकमा खनेको खाल्डोमा परी ८ वर्षीय बालक केदार गिरीको निधन भएको हो । बालकको मृत्युपछि स्थानीयले काममा अवरोध गरेपछि उद्योगले परिवारलाई क्षतिपूर्ती दिएर घटना गुपचुप पारेको छ । अहिले पनि उद्योगले बेनिघाट रोराङ तर्फबाट मलेखु खोलाकै अस्तित्व सकिने गरी आफ्नो धन्धा चलाइरहेको छ ।

ह्वासिन सिमेन्ट उद्योगले सयौं रोपनी खोलाको जग्गा मिचेको प्रसङ्ग सगरमाथा टेलिभिजनले उजागर गरेपछि संसदको सार्वजनिक लेखा समिति स्थलगत अनुगमनमा गएको थियो । उद्योगले खोलाको जग्गा मिचेको समितिको ठहर छ । अनुगमनमा पुगेका सार्वजनिक लेखा समिति सदस्य राजन केसीले भने, ‘अध्ययन प्रतिवेदन सार्वजनिक हुन बाँकी छ । तर, कम्पनीले सार्वजनिक जग्गा मिचेको छ । अनियमितता भएको छ ।’

भिडियो हेर्नुहोस्

स्रोतका अनुसार सुरज बैद्यको अर्गनाइजेशनले अहिले केही स्थानीय जनप्रतिनिधि र पहुँचवालालाई हातमा लिएर खोलाको जग्गामा आफूखुसी धन्दा चलाएइरहेको छ । तर, यो विषयमा बैद्यले भने प्रतिक्रिया दिन मानेनन् ।

यता, संसदीय समितिका अधिकारी भने पैसा र पहुँचकै आडमा मनलागी मच्चाउनेले उन्मुक्ति नपाउने दाबी गर्छन् । समिति सदस्य अमनलाल मोदीले भने, ‘हामी पैसा र पावर चिन्दैनौं । कसैले कानून विपरीत काम गरेको छ भने, कानूनी सजाय दिलाउन हामी भूमिका खेल्छौं ।’

विदेशी लगानी भित्र्याउने नाममा नेपाली भूमीमा आएर मापदण्ड मिच्दै जग्गा कब्जा गरी काम गर्ने अधिकार कसैलाई छैन । त्यसैले नियमनकारी निकायले अब चाँडो भन्दा चाँडो दोषीलाई कारवाही गर्नै पर्छ ।