सुविधायुक्त सर्पदंश उपचार केन्द्र निर्माण गरिँदै

title
बिहिबार, भदौ २१, २०७५

नारायण सुबेदी/ नवलपरासी

पश्चिम नवलपरासीमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय सुनवल ११ जर्गहाले सुविधायुक्त सर्पदंश उपचार केन्द्र निर्माण गर्न लागेको छ ।

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा महाविद्यालयले जनताहरुलाई सर्पदंशको उपचार सेवा दिने उद्देश्यले आफनो ब्यारेक भित्र सुविधा सम्पन्न उपचार केन्द्र निर्माण गर्न लागेको हो ।

२८ लाख रुपैयाको लागतमा निर्माण हुने ६ कोठे उपचार भवनको एक कार्यक्रमबिच सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले शिलन्यास गर्नुभयो । उहाँले उपचार केन्द्रबाट यस जिल्लाकै सर्पदंशका विरामीहरुले लाभ लिन विश्वास व्यक्त गनुभयो । तीन महिनामा सम्पन्न हुने सो भवन निर्माणको लागि सुनवल नगरपालिकाले यस आर्थिक बर्षमा २० लाख रुपिया बिनियोजन गरेको छ ।

उपचार केन्द्रमामा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष र चिकित्सक कक्ष सहित सुविधायुक्त भवन निर्माण हुने महाविद्यालयका प्रमुख एवं बरिष्ठ प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले बताउनुभयो । सर्पदंशक उपचार केन्द्रमा एक जना एमबीबी एस डाक्टर, थप आवश्यक चिकित्सक, औषधी र उपचारका लागि आवश्यक उपकरण, विरामीका लागि ५ वटा बेड, ल्याबका लागि उपकरण तथा मेटेरियल समेतको व्यवस्था मिलाइने महाविद्यालयले जनाएको छ ।

सर्पदंश उपचार केन्द्र नवलपरासी जिल्लामा दोश्रो केन्द्र हो । एउटा केन्द्र नेपाली सेनाको ब्यारेकमा छ भने यो अर्काे केन्द्र यस महाविद्यालयमा परिसरमा निर्माण हुन लागेको हो ।