सुशील र प्रशान्तको एक्सन अवतार

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौं । चलचित्रका लागि नभइ नहुने अश्त्र मध्येको एक हो– एक्सन । केही अपवात वाहेक प्रायः चलचित्रमा एक्सन समावेश हुन्छ ने । कमेडी र लभ स्टोरीका चलचित्रमा समेत एक्सन समावेश गरिन्छ भने झन एक्सन चलत्रिका लागि त यो नभइ नहुने अस्त्र नै हो । अहिले यस्तै एक्सनले भरिपूर्ण एउटा चलचित्रको बजारमा बढी चर्चा छ ।

चलचित्र हो–रणवीर । जहाँ अभिनेता सुशील सिटौला र प्रशान्त ताम्राकारको एक्सनलाई दर्शकले भरपूर मनोरञ्जन लिने निर्माण पक्षको अपेक्षा छ ।  त्यसो त पछिल्लो समय साउथ इण्डियन चलचित्रको प्रभाव समेत नेपाली चलचित्रमा पर्न थालेको छ । साउथ चलचित्रहरु युटुबमा बढी हेरिन थालेपछि मेकरहरुले एक्सनप्रधान चलचित्रमा ध्यान दिन थालेको पाइएको हो । पछिल्लो समय कमेडी जनराका चलचित्रले बजार पिटेको भए पनि एक्सन चलचित्र विगत देखि वर्तमानसम्म एकै लयमा बगेको देखिन्छ ।

विगतमा प्रविधिको कम मात्रामा प्रयोग हुँदा त्यसले विशेष अर्थ राख्दैनथ्यो भने अहिले अभिनेताको अभिनयले भन्दा पनि प्रविधिको प्रयोगले अपत्यारिला तथा विश्वास नै गर्न नसकिने सिनहरुसमेत देख्न पाइन्छ ।  चलचित्र रणवीरले पनि दर्शक बटुल्ने प्रमुख अस्त्रका रुमा एक्सनलाई नै लिएको छ । चलचित्र माघ १८ गतेबाट दर्शकमाझ आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई पनि तीव्रता दिएको छ । यही मेसोमा ‘रणवीर’को एक्सन नै एक्सनले भरिएको टिजर सार्वजनिक भएको छ ।

चलचित्रको टिजरमा नायक सुशिल सिटौलालाई एक्सन अवतारमा देखाइएको छ । सुशिलले आफूलाई यो अवतारमा ढाल्नका लागि मिहिनेत पनि गरेको देखिन्छ । उनको चलचित्रका अर्का कलाकार प्रशान्त ताम्राकारसँग टकराव परेको देखाइएको छ । महङ्गो लगानीमा तयार भएको यो चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।