सेड्रिनाको मनमा अनुभव !

title
बुधबार, भदौ २०, २०७५

काठमाडौं । वर्षकै सर्वाधिक हिट बनेको प्रदर्शनरत चलचित्र ‘नाइँ नभन्नू ल–५’ को नयाँ गीत सार्वजनिक भएको छ । दोस्रो सातामा प्रदर्शनरत फिल्मको ‘यी आँखामा तिमी…’ बोलको गीत निर्माण चलचित्र प्रदर्शनमा आएको दुई सातापछि युट्युवमार्फत सार्वजनिक गरेको हो ।

यो ‘नाईं नभन्नू ल २’ को सुपरहिट गीत हो, जसमा बाल कलाकार अनुभव र सुज्ञानी भट्टराई फिचर्ड थिए । सो गीत पुनः ‘नाईं नभन्नू ल’ को पाँचौ सिरिजमा राखिएको छ । भिडियोमा अनुभव र सेड्रिना शर्मा प्रस्तुत छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने शब्द कृष्ण हरि बरालले लेखेका छन् ।

यसअघि यो गीतमा प्रेम परियारको स्वर थियो । चार्टबीटमा लामो समयसम्म छाएको ‘यी आँखामा तिमी…’ गीत पुनः फिल्ममा राख्नुको पछाडि सुज्ञानीको ठाउँमा सेड्रिनाले आफूलाई कल्पना गर्ने हुँदा उक्त गीत राखिएको स्क्रिप्ट राईटर सामिप्यराज तिमल्सिनाले बताए ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नू ल–५’ ले प्रदर्शनको एक हप्तामा ३ करोड ७० लाखको कलेक्सन गर्दै वर्षकै पहिलो हिट फिल्ममा आफ्ना नाम लेखाएको छ । उक्त फिल्मले बाल कलाकार सेड्रिनालाई स्टार बनाएको छ ।

अहिले उनकोे कामको सर्वत्र चर्चा भइरहेको छ । अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझी, निरुता सिंहलगायतका कलाकारहरुको यस फिल्ममा अभिनय छ । निरुताले लामो समयपछि यही चलचित्रबाट पुनरागमन गरेकी हुन् । उनको पुनरामन निकै नै सुखद् भएको छ ।