सेन्चुरी सुपर सिक्स प्रतियोगितामा २४ टोली भिड्दै

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको सेन्चुरी कर्पोरेट सुपरसिक्स प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता नोभेम्बर २६ तारिख देखि शुरु हुँदैछ । एसएस इभेन्ट्सको आयोजनामा हुने प्रतियोगिता डिसेम्बर एक तारिखसम्म चल्नेछ ।

पाँचौ संस्करणका रुपमा रहेको प्रतियोगितामा यसपटक २४ टिमको सहभागिता रहनेछ । जसमा हरेक टिमलाई विभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ । प्रतियोगिताको साविक विजेताले यसपटक निशुल्क रुपमा सहभागिता जनाउन पाउनेछ । २४ टिमलाई आठ समुहमा विभाजन गरिएको छ ।

हरेक समुहमा तीन टिम हुनेछन । हरेक समुहमा रहेका हरेक टिमले राउण्डरोविनका आधारमा खेल्नेछन र एक समुहबाट दुई टिम प्रिक्वाटरफाइनलका लागि छनोट हुनेछन् । जसबाट आठ टिम क्वार्टरफाइनलमा स्थान बनाउनेछन । त्यसपछि चार टिमले सेमिफाइनल खेल्नेछन ।

प्रतियोगिताको साविक विजेता सिभिल बैंक हो भने उपविजेता आइसीएफसी फाइनान्स हो । प्रतियोगिता ५ ओभरको हुनेछ भने प्रतियोगितमा सहभागिता जनाउने टिमले ६५ हजार रुपैयाँ टिम दर्ता शुल्क तिर्नुपर्नेछ । प्रतियोगिताको कुल बजेट ३२ लाख रुपैयाँ अनुमान गरिएको छ । प्रतियोगितामा विजेता, उपविजेताका साथै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई गिफ्ट ह्याम्परसँगै पुरस्कारको व्यवस्था गरिएको छ ।