स्काइप पापा !! छोरीलाई फकाउन नसकेर फोन काट्दाको क्षण

title
बुधबार, असार ४, २०७६

-महेन्द्र भट्टराई
छोरी तिमीलाई जन्मदिनको लाखौं लाख शुभकामना । सधैँभरि सत्यको पक्षमा उभिनु र मेहनत गर्न कहिल्यै अल्छी नमान्नू । स्वस्थ रहनु, निरोगी हुनु अनि ईश्वर सधैं तिम्रा दाहिना रहुन । यही छ तिमीलाई तिम्रो बाबाको शुभकामना ।

हिजो जस्तो लाग्छ, साथीभाइसँग ठट्टा मजाक गर्दै घुमेको । घरमा बा-आमाले छिटो घर आइज, रातिनपार, अँध्यारोमा धेरै नहिंड, बाहिर धेरै डुल्ने होइन, आफ्नो काममा ध्यान दिई, मेहनत गर भन्दा एकै छिन त हो नी, साथीसँग छु नि हौ, कति किचकिच गरेको, कति भनिरहनु भएको होला, बुझ्छु हौ बुझ्छु भन्दै हिंडेको ।

तर जब मेरा जीवनमा तिम्रो आगमन भयो तब बुझ्दैछु । हिजो मलाई बाबाममीले किन त्यसो भन्नुभएछ । आफ्नो आँखा अगाडि आफ्ना छोराछोरी नहुँदा मन कति छट्पटिदो रहेछ, वास्तवमा बाआमा साथमा हुँदा भन्दा आफू बाआमा हुँदा कति अन्तर रहेछ भन्ने बुझ्दैछु ।

हो म पनि पुरानो सोचको हुन थाले छु । विस्तारै म पनि बुढो हुँदै गएछु, अनि पो हिजो भन्दा आज अनि आज भन्दा भोलि मेरा पनि सोचहरु मेरा बाआमाका जस्ता हुन थालेछन् । होला म मेरा बाआमाभन्दा केही फरक तरिकाले सोच्छु होला, मेरा सोचमा केहि नयाँपन होला, केही खुलापन होला, केही परिस्कृत होला तर ती कताकता मेरा बाआमाका जस्तै छन् ।

र म विश्वस्त छु भोलि गएर तिमीले त्यही भन्नेछौ-ह्या बाबाकति पुरानो सोच बनाइसिया, कति किचकिच, कति त्यही कुरा, बुझ्छु हौ बुझ्छु, हजुर बुढो भइसियो, पूरानो सोचको ! साँच्चै अचम्म, यो त चक्र रहेछ, समयको चक्र, मायाको जाल उहीले मेरा बाआमा अनि म भोलिपर्सि तिमी । समय फेरिएला, अनुहार फेरिएला, समाज भिन्न होला, सोच फरक होला तर उद्देश्य त्यही, माया उही, तनाव उस्तै अनि छट्पटाहत उस्तै ।

हिजो आज यी नै तनाव, यही माया अनि यस्तै छट्पटाहटमा एउटा नयाँ समस्या थपिएको छ । देशको अवस्था, रोजगारको वातावरण, महंगि अनि बैदेशिक रोजगारी । मान्छे आफैंमा चलायमान प्राणी हो । आवश्यकता, आकांक्षा र उद्देश्यपूर्तिका हेतु ऊ परापूर्व कालदेखि नै बसाइसराइ र रोजगारका लागि अन्यत्र हिडंडुल गर्ने गर्थो तर हाल हाम्रो देशमा यो क्रम अलिक ज्यादा छ ।

हरेक घरमा कोहि न कोहिबाहिर छन्, कोहि अध्ययनको शिलशिलामा त कोही रोजगारको, कोही चिठ्ठामा त कोहि तेल भिसामा, अनि कोहिचाहीँ सबै गए ऊ पनि गयो त्यो पनि गयो त्यसैले म पनि जान्छु भनेर विदेशिएका छन् ।

हिजो यसरी विदेसिँदा, रोजगारका शिलशिलामा घरबाट टाढा हुँदा समाचार, खबर आदनप्रदानको स्रोत चिठ्ठी हुँन्थ्यो तर हिजो आज विकासका कैयौं अद्भूत फड्काहरुले गर्दा आवा, टेलिफोन हुँदै भिडियो कलिङ्गसम्म आइपुगेको छ । अनि यही भिडियो कलिङ्गले गर्दा हामीलाई एकअर्कासँग नजिक त बनायो तर एक अर्काको सामिप्यता, अनि भौतिक भेटघाट र घर परिवारमा आउने जाने क्रमको आवृत्ति र निरन्तरतालाई घटाउँदै टाढा पार्दै गयो ।

आज म मात्र होइन कैयौं साथीहरु, कैयौं नेपालीहरु परिवार भेट्न दशैं तिहार त्यो पनि एकाध बर्ष पछिका अवसरहरु कुर्छौ । कति देश भित्रै रहेर पनि यो अवस्थामा छौं त कति देश बाहिर रहेर वा अन्य वाध्यात्मक परिस्थितिले गर्दा यो अवस्थामा छौ । अनि आफूलाई भिडियो कलिङ्ग गरेर सँगसँगै पाउँदै, सँगसँगै हाँस्दै, रमाउँदै, रुँदै चित्त बुझाउन बाध्य छौ । अनित सोच्छु कहिले काहीँ यो डिजिटल भाँडो पनि मेरो घरको अभिन्न सदस्य हो । कहिले आमा बनिदिन्छ त कहिले श्रीमती अनि कहिले छोरी ।

तर यो सँगसँगै हिजो आज मलाई डर लाग्न, ईष्या लाग्न थालेको छ, कतै यसले मलाई नै पो रिप्लेस गर्दिने होइन । ठूलाठूला शहरमा बालबच्चाले दूध डिडिसी या अन्य यस्तै कुनै प्लास्टिकका पोकाले दिन्छ, फलफूल बाटोमा साइकलमा डुलाएर हिंड्ने विशेष त मधेसी या भारतीयमूलका भैयाले दिन्छन्, फोहोर सिठी फुक्नेले लान्छ भनेर बुझे जस्तो कतै मेरी छोरीले पनिबाबाभन्दा ल्यापटप या कुनै डिजिटल उपकरणलाई देखाउने होइन ।

कतै मेरी छोरीलाई तिम्रो बाबा को हो ? खोई तिम्रो बाबाभन्दा स्काइप, मेसेन्जर वा भाइबरलाई औंल्याउने त होइन । त्यसैले पनि हिजो आज सोच्न थालेको छु, म कतै स्काइप पापा त भएको छैन, कतै भाइबर बाबा त हुन लागिन ।

परिस्थिति वाध्यता भनौं वा आवश्यकता, रहर वा उपलब्धि, भाग्य भनौं वा अभिशाप अनि खुशी होऊँ वा दुःखी, म त्यसै असमञ्जस्यतामा परेको छु । हेर्छु मान्छेले बिहे गरेर श्रीमतीलाई घर जिम्मा लगाएर भनौं वा घरलाई श्रीमती छोडेर विदेशिएका छन् अनि लभ अनलाइनमा पर्छ । मेरी छोरी जन्मदा म पनि यहाँ थिइन । आमाले फोनमा सुनाउनु भयो ।

बुबाले भिडियोमा देखाउनु भयो । म रोऊँ या हासुँ । छोरीको आगमनले ढक्क फुलेको छाती, हर्षले न जमिन न आकाशमा भएका खुट्टा, खुला आकाशमा स्वछन्द निष्फिक्री चिच्याउँदै कराउँदै उडेको चरा जस्तो भएको मन रुखको हाँगामा अड्किएर छट्पटाएको चङ्गा जस्तो भएको थियो ।

आफु सात समुद्र पार छु, छुन पाएको होइन, चुम्न पाएको होइन, बोक्न पाएको होइन, समाल्न पाएको होइन अनि मन त्यसै भताभुङ्ग भएको थियो, शरीरमा आतेश बढेको थियो, खुट्टा ठूलो पथ्थरले च्यापेको भानभएको थियो, दूरी अत्यास लाग्दो अनि उपाय उही भिडियो कलिङ्ग, अनि जब छोरी रुन्छे फकाउने उपाय हुन्न ।

अनि कि त्यहाँको छ उसलाई गाली गर कि लग आउट गर, छोरी रोएको त हेर्न सके पो । साच्चै मैले मेरी छोरी हुर्काएको छैन, छोड्दा जन्मिएकी थिइनन्, आउँदा टुकुटुकु हिंड्ने भएकी थिइन । फेरी छोडेर हिंडेको छु, सानीलाई भोक स्काइपमा लाग्छ, उसले सुसु पनि स्काइपमा गर्छे, ऊ रुन्छे स्काइप मै अनि हिजोआज त आमासँग स्कुल जान्छे रे ।

उसैले भनेको तर मेरो लागित्यो नि स्काइप मै । अनि त बुढिले पनि बेला बेला डाइलग मार्दै भन्छे-छोरी कसरी हुर्केकी छ, थाहा छ, यसलाई के के मन पर्छ, यसका चकचक के के हुन्छन् थाहा छ, ए साँची डाइपर र्फेन आउँछ की घिन लाग्छ ? मेरो जवाफ उही रेडिमेड -खिस्स हाँस्यो अनि भन्यो, तिमि छौ नी त प्यारी । त्यै भएर त मलाई ढुक्क छ आनन्द छ ।

अब मेरा कुराले उसको मन बुझ्छ बुझ्दैन, उसले यो रिसाएर, मन दुखाएर भनेकी हुन् या यसै मलाई जिस्काएकी हुन् मैले आजसम्म बुझेको छु वा बुझचाएको छु मलाई थाहा छैन । आजसम्म छोरीले मेरो काखमा सुसु गरेकी छैन, मेरो काखमा खाँदाखाँदै निदाएकी छैन, मसँगै घुघुती खेलेकी छैन अनि रिसाएर मेरे कपाल तानेकी पनि छैन ।

म त्यसै बाबु बनिरहेको छु, फिल्ड अनुभव जिरो । त्यही भएर लाग्छ श्रीमतीका डाइलग, छोरीसँग एक्लै हुँदाको दुःख, उसको एक्लोपन त बुझ्छु होला तर आफूले गुमाएको त्यो छोरीको बालापन, ऊसँगको भागदौड, उसका तोते बोली मैले कहाँ पाउने होला फेरी ।

कहिलेकाँही त डर लाग्छ कतै घर गएको बेला उसकी ममीसँग एउटै ओछ्यानमा किन सुत्नआएको भनेर छोरीले लखेट्ने त होइन । है, हाम्रो समाज कसरी परिवर्तन हुँदै छ । घरमाबुबाआमासँग छोरी श्रीमती छोड्दा त मेरो मनमा यस्ता कुरा आउँछन् भने कसैको साथबिना छोडेर हिंड्न बाध्य ती हाम्रा दाजुभाइ दिदिबहिनीको मनमा के के आउँदो हो । अनि परिवार, सामिप्यता कस्तो हुँदो हो ।

यात्रा कै क्रममा मसँग भेट भएकी एक महिलाको सानो फेहरिस्ता यहाँ जोड्न चाहें । नीज महिला आफ्नो डेढ बर्षको बच्चा छोडेर रोजगारीको शिलशिलामा विदेशिएकी रहिछन् । पाँचबर्ष पछि घर गएर एक महिना बसिछन्, अनि त्यसको पाँच वर्ष पछि पुन घर गएर अर्को एक महिना बसिछन् ।

त्यसपछि जम्मा १३ वर्षको इराक बसाइ छोडेर उनी क्यानाडा आउन सफल भइछन् । क्यानाडा आएको छ वर्षमा अब कागज पत्र बन्ला र परिवार ल्याउन मिल्ला जस्तो भएछ । तर यही समयमा उता छोरोले प्लस टु सकेर अष्ट्रेलियाको विद्यार्थी भिसाप्राप्त गरेको रैछ । छोरोलाई क्यानाडा मन पर्दैन रे ।

उनले इराकको दुःख, क्यानाडाको बसाइ, अनि बनेको कागज, छोरोको पढाईको प्रगति, अष्ट्रेलियाको भिसा यस्तै सुख दुःखको कुरा सुनाउँदै गर्दा म भने उनको परिवारको गाथा सम्झिन थालेंछु ।

उनीहरुले गरेको काम, पुगेको राष्ट्र, रोजगार, पीआरको लोभ, उपलब्धि, रहर, समस्या, वाध्यता केलाउन खोज्या होइन ।  नकि उनीहरुको व्यक्तिगत जिन्दगीमा बोल्न खोज्या हो । श्रीमान् श्रीमतीबीचको उनीहरुको सम्बन्ध चाहे अनलाइनमा होस् वा सम्झनामा नै व्यतित गर्दै भए पनि बचाएर राख्न सके त्यो राम्रो हो ।

आमा छोराको सामिप्यता कति छ र कसरी कायम गर्न सफल भए त्यो उनीहरुले जान्ने विषय हो तर के त्यसरी टाढा भएर परिवार चलाउने सबै सफल छन् त, के परिवारको सम्बन्ध र सामिप्यता त्यति नै गाढा, नजिक र बलियो छ त, के सबै त्यति नै नै भाग्यमानी छन् त ?

के हामी पूर्वीय सभ्यतामा हुर्किएका नेपालीको पारिवारिक सामिप्यता र सम्बन्ध यस्तै हो त ? अनि यो विकासले कहाँ पुर्‍याउला ? यसले हाम्रो संस्कार, संस्कृती, परम्परा र परिवारबीचको माया, सद्भाव र सम्बन्ध बचाएर राख्ला त? कतिको परिवार यसरी नै चलिरहेको होला । तर कहिले सम्म ? अनि यसले समाजमा पार्ने प्रभाव ? भयो त्यसको मतलब नगरौं तर यसले हाम्रो परिवारमा पार्ने प्रभाव ? हाम्रा छोराछोरीमा पर्ने असर र यसले छोड्ने छाप ? खै के होला ? कसले सोच्ला ? सायद बैदेशिक रोजगारको एउटा मुख्य प्रश्न यहि हो की ?

ओहो! छोरीलाई जन्मदिनको शुभकामना दिन बसेको मान्छे कहाँ पो बरालिन पुगेछु, कहाँ पो हराँए छु, हैट ! भएन ।

फेरी पनि जन्मदिनको लाखौं लाख शुभकामना छोरी तिमीलाई अनि तिमी जस्तै धेरै छोरीहरुलाई, स्काइप पापाको तर्फबाट !! जय स्काइप!!!