‘स्तनपान : जीवनको आधार’ नाराको साथ विश्व स्तनपान सप्ताह शुरु

title
बुधबार, साउन १६, २०७५

विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्या बारे सचेत गराउन विश्वभर स्तनपान सप्ताह मनाइदै आएको छ ।

बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि ६ महिनासम्म चाहिने सम्पूर्ण पौष्टिक तत्व आमाको दुधमा पाइने हुँदा निरन्तर आमाको दुधमात्र खुवाउनुपर्नेे चिकित्सकहरु बताउंछन् ।

चिकित्सकहरुका अनुसार स्तनपानले नवजात शिशुमा पहिलो खोपको काम गर्छ । शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराई सक्नुपर्छ । शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराका साथ आमाको दुध खुवाउनु जरुरी छ । यसले बच्चाको शारीरिक तथा मानसिक विकास छिटो हुने भएपनि पछिल्ला बर्षहरुमा आधुनीकताका नाममा नवजात शिशुलाई स्तनपान गराउनेको संख्या घटेको छ ।

तथ्याङ्क अनुसार नेपालमा ६ महिनाभन्दा कम उमेरका ६६ प्रतिशत बच्चाले स्तनपानको अवसर पाएका छन् भने ५५ प्रतिशत आमाले शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने गरेका छन् । तर विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन ।

त्यसैगरी ६ देखि २३ महिनासम्मका एक चौथाई बच्चाले मात्र आमाको दुध नियमीत पाईराखेका छन् ।