स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः सुचारु हुँदै

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्डकप खेल्न गएका कारण बीचमा स्थगित सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः सुचारु हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने खेलमा बुधबार च्यासलले मछिन्द्रा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । त्यस्तै २५ गते पहिलो खेलमा बिहान ११ बजे फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सोहि दिन हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसंग दिउसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै २६ गते हिमालयन शेर्पा क्लबले सशत्र प्रहरीको एपीएफ क्लबसंग बिहान ११ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीच दिउसो ३ बजे खेल हुनेछ ।

पाँच वर्षपछि असोज १३ गतेबाट सुरु भएको लिग बंगबन्धु गोल्डकपका कारण बीचमा रोकिएको थियो ।

९ दिनको स्थगनपछि बुधबारबाट पुनः लिग सुचारु हुन लागेको हो । पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले २–२ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई एक शुन्यले पराजित गरेको थियो ।