स्वच्छ व्यवसाय गर्ने सरकारसँग डराउनु पर्दैन– मन्त्री यादव

title
बिहिबार, भदौ २१, २०७५

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्वच्छ ढंगले व्यवसाय गर्ने उद्यमीले सरकारसँग डराउनु नपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाजले बिहिवार काठमाडौमा गरेको कार्यक्रममा मन्त्री यादवले नराम्रो काम गर्नेलाई मात्र सरकारले कारवाहि गर्ने बताउनुभएको हो । आर्थिक कारोबारमा आर्थिक जरिवाना मात्र लगाउनु पर्छ भन्ने मानसिकतामा सरकार नरहेको उहाँको भनाई छ । यादवले मानव स्वास्थ्यमा असर पर्ने गरी कसैले उत्पादन गर्छ भने त्यसलाई जेल हाल्नु पर्ने बताउनुभयो ।

उहाँले नेपालमा उद्यमी भन्दा ब्यापारी बढि भएकाले बाहिरको लगानी नआएको आरोप पनि लगाउनुभयो । उहाँले ब्यापारीहरुले आफूले कर तिरेको भन्दै ठूला कुरा गरेपनि त्यो कर जनताले तिरेको जिकिर गर्नुभयो ।

उहाँले नेपालमा वैदेशिक लगानी आकर्षित हुन नसकेको अवस्थामा सकारात्मक समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।