स्वदेश फर्किनु अघि गोबिन्दाले भेटे प्रधानमन्त्री ओलीलाई

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं– नेपाल भ्रमणका क्रममा बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गत शनिबार नेपाल आएका गोविन्दले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

त्यसो त प्रधानमन्त्री ओलीले नेपाली चलचित्र क्षेत्रको विकासका सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइरहेका छन् । उनी भारत भ्रमणमा निस्किँदा समेत नेपाली कलाकारलाई सँगै लगेका थिए । चलचित्र क्षेत्रबाट नेपाली कला संस्कृतिको विकास हुनका साथै जगेर्ना हुनेमा उनी विश्वस्त देखिँदै आएका छन् । त्यतिमात्र नभएर विदेशीहरुमा नेपालको पहिचान झल्काउन चलचित्र क्षेत्रको विशेष भूमिका रहने पनि बताउँदै आएका छन् ।

अभिनेता गोविन्दले आइतबार बिहान पशुपतिनाथ पुगेर दर्शन गरेका थिए भने आइतबारै दिउँसो एलजी सिने सर्कल अवार्ड कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा गोविन्दाले आफू नेपालीहरुको मायाले भावविभोर भएको बताए । उनले नेपालको सुन्दरताको समेत प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गोबिन्दाले आफ्नो पहिलो प्रेम (हाल श्रीमती) नेपाली युवती भएको हुँदा नेपालप्रति विशेष आत्मियता रहेको बताए ।

उनी सोमबार दिउँसो स्वदेश फर्किएका छन् । बलिउड अभिनेता गोविन्दा आफ्नो छोरी टिना आहुजालाई साथ लिएर शनिबार बिहान नेपाल आएका थिए । नेपाली भूमि टेकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिए । सन् १९९० पछि गोविन्दा धेरै पटक नेपाल आइसकेका छन् ।

सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो । अभिनेत्री मनिषा कोइरालाको विवाहमा पनि उनी नेपाल आएका थिए । गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी भएका कारण उनलाई नेपालका ज्वाइँ समेत भन्ने गरिन्छ भने उनका नेपाली फ्यानहरु पनि धेरै रहेका छन् ।