
काठमाडौँ— चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ ।
यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी भएको थियो । सो क्रममा केही क्याम्पसमा विवाद समेत भएका थिए ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने त्रिविले जनाएको छ ।