स्वाइन फ्लुबाट ३ सयको मृत्यु

title
शुक्रबार, कार्तिक १६, २०७५

भारत । महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३ सय २ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “राज्यमा यसवर्षको हालसम्म ३ सय २ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ। अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर रहेको छ।” उहाँले जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३ सय ७५ मानिस बिरामी भएको बताउनुभयो । “तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो।यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए,” आवटेले बताउनुभयो।

उहाँले मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो। “मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्दछ। यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ।”डा.आवटेले रुघाखोकी लागेका व्यक्तिहरु अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताउनुभयो।