हट्ला त फेवाताल अतिक्रमणको समस्या?

title
शुक्रबार, जेष्ठ १०, २०७६

तुलसीराम सुवेदी
कास्की । पर्यटकीय शहर पोखराको सौन्दर्यतासंग जोडिएको एउटा परिचित नाम हो फेवाताल । पोखराको पर्याय बनेको फेवाताल पछिल्लो समय भने अतिक्रमणको चपेटामा परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने पोखरामा पर्यटक लक्षित व्यापार तथा व्यवसाय समेत फेवाताललाई नै अतिक्रमण गरेर हुन थालेका छन । यतिमात्र हैन पोखरा बजारको ढल र नहर समेत मिसाउँदा फेवाताल दुर्गन्धीत बनेपछि यसको संरक्षणको पहल थालिएको छ ।

५८ बर्षअघि २० हजार.रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सिमित छ । ताल आसपासका खोला नालाहरुले बगाएर बार्षिक १ लाख ४० हजार मेट्रिक टन ढुंगा माटो तालमा जम्मा हुदा ताल पुरिने क्रम रोकिएको छैन । ताल पुरिदै जादा निस्कीने जमिन बर्षेनी अतिक्रमणमा पर्दै आएको छ ।

विगतमा ताल रहेको क्षेत्र अहिले भौतिक पूर्वाधार तथा खेती किसानी गर्ने क्षेत्रमा परिणत भएको छ । ताल आसपासको ६५ मिटर क्षेत्रमा पूर्वाधार बनाउन नपाइने गरिको मापदण्ड बनाइए पनि व्यवसायीका बाहुबलीसामु सरोकारवाला निकाय निरिह छ । अर्थात ताल आसपासको ६५ मिटरको क्षेत्रमै होटल केसी, होटल वाटर फन्ट लगायतका होटल तथा लज र विभिन्न संघ संस्था, मठ मन्दिर तथा तिनका पर्खाल ठडिएका छन ।

फेवातालको अतिक्रमण रोक्न पटक/पटक विभिन्न आयोग तथा समिति सक्रिय भए पनि फेवातालको जग्गा अतिक्रमण हुनबाट जोगिएको छैन । तर सर्वोच्च अदालतले फेवाताललाई अतिक्रमणबाट जोगाउने गरी सरकारका नाममा फैसला सुनाएपछि पोखरा महानगरपालिका यतिबेला फेवाताल संरक्षणमा सक्रिय भएको छ । यसका लागि महानगरपालिकाले १५ दिनभित्र फेवाताल आसपासका ६५ मिटर क्षेत्रभित्र पर्ने संरचना भत्काउन सूचना जारी गरेको छ । सो समयावधि भित्र पनि संरचना नहटाए भत्काइदिने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले चेतावनी दिए ।

यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा फेवाताल अतिक्रमण जग्गा छानबिनका लागि समिति गठन गरिएको थियो । सो समितिले सरकारलाई २०६९ साल जेठ ३ गते प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनलाई समेत आधार मान्दै दायर भएको रिटमा सर्वोच्चले गत बर्ष बैशाख १६ गते फेवातालको अतिक्रमण हटाउन सरकारका नाममा आदेश दिएको थियो ।

रामसार क्षेत्रमा समेत सुचिकृत फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसलासँगै महानगरपालिकाले देखाएको सक्रियताले फेवाताल संरक्षणमा सघाउ पुग्नेमा अभियान्ताहरु विश्वस्त देखिएका छन । फेवाताल अतिक्रमण जग्गा छानबिन समितिका संयोजक विश्वप्रकाश लामिछानेले अतिक्रमण रोक्न महानगरले थालेको संक्रियता स्वागतयोग्य रहेको बताए ।

फेवातालको अतिक्रमण हटाइएसँगै सो क्षेत्रलाई पार्कको रुपमा विस्तार गर्ने महानगरपालिकाको योजना छ । तर जानकाहरु भने फेवातालको अतिक्रमणसँगै त्यहा मिसाइदै आएको ढललाई हटाउनुपर्ने बताउँछन । अन्यथा पोखराको आकर्षण बनेको फेवाताल दुर्गन्धले बदनामको कारण नबन्ला भन्न सकिन्न ।