हतियारले बढायो अपराध, लाइसेन्स भएका हतियार बोक्ने नेतादेखि डनसम्म

title
बिहिबार, जेष्ठ ९, २०७६

गजेन्द्र बस्नेत

नेपालमा अहिले अबैध मात्र होइन, बैध हतियार पनि सुरक्षा चुनौतीका रुपमा देखिन थालेका छन् । आपराधिक पृष्ठभूमिकै व्यक्तिहरूले इजाजत पाउँदा हतियारको दुरुपयोग बढेको प्रहरीको ठहर छ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, हतियार देखाएर धम्क्याउँदै रकम असुली गर्ने र ठेक्कापट्टा कब्जा गर्न सक्रिय हुने जस्ता घटना देखिएका छन् ।

यसअघि बैध हतियारको आडमा मिटर ब्याजको धन्दा चलाउने, अबैध वन्यजन्तुको शिकार गर्ने, धम्क्याउने, चन्दा अशुल्ने, हप्ता अशुल्ने जस्ता घटनासमेत सार्वजनिक भएका थिए ।

प्रहरीका अनुसार, नेपालमा जति पनि अपराध हुन्छ, ती मध्ये ९५ प्रतिशत बढी अपराध हतियारकै आडमा हुन्छ । मुख्यगरि लुटपाट, गुण्डागर्दी, फिरौती र धम्कीलगायतका घटनामा हतियारको प्रयोग बढेको देखिन्छ ।

कस्ता छन् बैध हतियार ?

शुरुमा साना हतियार खरिद गर्न दिने कानूनी व्यवस्था थिएन । तर, पञ्चायतकालमा राजाको हुकुम प्रमांगी र बहुदलकालमा मन्त्रिपरिषद्ले विशेष निर्णय गरी साना हतियार राख्न दिने गरेको थियो। तर अहिले सरकारले १२ बोर र २२ बोर राइफलका साथै हवाइफायर गर्न मिल्ने बन्दुकलाई मात्र छुट दिएको छ ।

यसबाहेक अरु हतियार राख्ने छुट छैन । १२ बोरको राइफलका लागि सय राउन्ड गोली राख्न पाउने कानूनी व्यवस्था छ भने २२ बोरका लागि २ सय राउन्ड ।

कति छन् इजाजत प्राप्त हतियार ?

पछिल्लो ३ बर्षयता देशभर कतिले हतियारको इजाजत लिए त्यसको आधिकारीक तथ्याङ्क गृहमन्त्रालयसँग छैन । तर, मन्त्रालयका अनुसार, २०७२ असारसम्ममा देशभर इजाजतप्राप्त हतियारको संख्या ३४ हजार ३ सय १४ वटा थियो । त्यसमा पेस्तोल, रिभल्वर, भरुवा बन्दुक, १२ बोरको बन्दुकलगायत छन् ।

यी मध्ये काठमाडौंमा मात्रै ११ हजार अनुमति प्राप्त हतियार छन् । नेपालमा अमेरिका, सिंगापुर, बेलायत, इटाली र जर्मनीमा बनेका हतियार ल्याउने गरिएको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हतियारको विवरणबाट देखिन्छ ।

कोसँग छ बैध हतियार ?

गृहमन्त्रालयको तथ्याङ्क अनुसार, वैध हतियार रँख्नेमा ठूला उद्योगी र दलका नेताहरु बढी छन् । त्यस्तै सभ्रान्त वर्गले शोखका लागि हतियार राख्ने गरेको पाइएको छ । ती बाहेक नाम कहलिएका थुप्रै गुण्डा नाईकेहरुसँग पनि हतियारको इजाजत छ ।

राजनीतिक दलका भात्रृसंगठनका केही नेता तथा कार्यकर्ता सँग पनि हतियार रहेको तथ्याङ्क छ । नेपालका सबै बैंकले पनि हतियार राख्ने इजाजत लिएका छन् । एउटा बैंकसँग कम्तीमा ५ देखि ८ हतियारसम्म रहेको गृहमन्त्रालयको तथ्यांक छ ।

पूर्व एआइजी नवराज ढकालमा अनुसार, नागरिकलाई हतियारको इजाजत दिनै नहुने भन्ने होइन, तर हतियारको इजाजत दिंदा, इजाजत लिने व्यक्ति कस्तो पृष्ठभूमीको हो ? के गरिरहेको छ ? हतियार राख्न आवश्यक व्यक्ति हो की होइन सवै कुरा विचार गरेर मात्रै दिनुपर्छ ।

तर, अहिले हतियारको इजाजत लिने व्यक्तिहरुको रेकर्ड हेर्ने हो भने अधिकांश इजाजत होल्डर कुनै न कुनै आपराधिक क्रियाकलापमा जोडिएका छन्। त्यसैले इजाजत दिंदा हतियारको संवेदनशिलता ध्यानमा राखेर इजाजत दिनु राम्रो हुन्छ ।