जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • हमासले बन्दी मुक्त नगरे आक्रमण थाल्ने इजरायलको घोषणा

हमासले बन्दी मुक्त नगरे आक्रमण थाल्ने इजरायलको घोषणा

काठमाडौं। इजरायल र हमासबीच पुनः युद्ध भड्किने सम्भावना बढेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार चेतावनी दिँदै हमासले बन्धक मुक्त नगरे थप सैन्य कारबाही सुरु गर्ने घोषणा गरेका छन् ।

हालै मात्र हमासले इजरायललाई युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाउँदै बन्दीहरूलाई रिहा गर्ने योजना रोक्ने निर्णय गरेको थियो । यसले द्वन्द्वलाई थप पेचिलो बनाएको छ । यो घटनाक्रमपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्य गर्ने प्रस्ताव राखेका थिए । इजरायली प्रधानमन्त्री नेतन्याहुले पनि मंगलबारसम्म युद्ध रोक्ने अन्तिम चेतावनी दिएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि इजरायलले गाजा क्षेत्रमा व्यापक हमला गरेको थियो । यस क्रममा ४६ हजारभन्दा बढी मानिसले ज्यान गुमाए । लामो समयसम्म चलेको रक्तपात रोक्न सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो, जसको कार्यान्वयन १९ जनवरीबाट सुरु भएको थियो ।

सम्झौता अनुसार, दुबै पक्षले एकअर्काका बन्दीहरूलाई क्रमशः रिहा गरिरहेका थिए । शनिबार हमासले तीन इजरायली बन्दीहरूलाई मुक्त गर्ने योजना बनाएको थियो । तर, अप्रत्याशित रूपमा हमासले निर्णय परिवर्तन गर्दै बन्धक रिहाइ स्थगित गरेको छ, जसका कारण युद्धविराम सम्झौता संकटमा परेको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासकै कारण सम्झौतामा समस्या आएको दाबी गर्दै यदि बन्धकहरू नछोडिए भने पुनः हमला सुरु गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार हमासको कब्जामा अझै ७६ जना इजरायलीहरू छन् ।

यसैबीच, सन् २०२३ को हमास आक्रमणपछि बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीबारे अझै कुनै ठोस जानकारी बाहिर आएको छैन । नेपाल सरकारले उनलाई मुक्त गराउन कूटनीतिक पहल गरिरहेको भए पनि सफलता हात परेको छैन ।

धेरै टिप्पणी गरिएका