हरिवंशको जन्मदिनमा ‘दाल भात तरकारी’

title
बुधबार, कार्तिक २८, २०७५

मदनकृष्णका कुराले भावूक बने हरिवंश

काठमाडौं । मह संचारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । मंगलबार राजधानीमा कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए ।

दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ । मंसिर १ गतेबाट चलचित्रको छायांकन शुरु हुने यस चलचित्रलाई करिब ५० दिन लगाएर छायांकन गरिने निर्माता किरण केसीले जानकारी दिए । चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् । सुदनलाई छोरा भएकै कारणले चलचित्रको निर्देशनको जिम्मा दिन नलागेको किरणले बताए । चलचित्रका लेखक हरिवंश आचार्यले सामाजिक कथावस्तुलाई हाँस्यरसमा प्रस्तुत गर्न लागेको बताए ।

कलाकार पुष्पल खड्काले यो टिमसँग जोडिन पाउँदा आफू उत्साहित रहेको सुनाए । चलचित्रलाई वि.सं २०७६ साल वैशाख १३ गतेबाट रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रमा समावेश ३ वटा गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । ज्योतिषले दिएको साइत अनुसार आज बिहान ८ बजेर ३१ मिनेटमा चलचित्रको शुभसाइत गरिएको थियो ।

गत वर्ष प्रदर्शनमा आएको ‘शत्रु गते’ टिमको नयाँ फिल्म ‘दाल भात तरकारी’ को बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६० औं जन्मदिनको अवसरमा शुभ मुहूर्त गरिएको हो । चलिचत्रका लागि भारतमा रहेकी नायिका सिंह केही दिनमा नेपाल आउँदैछिन् । फिल्ममा पुष्पलको जोडी आँचलसँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिने बताइएको छ ।

निर्माता केसीले ‘शत्रु गते’ मा भएका कमी कमजोरी ‘दाल भात तरकारी’ मा नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । अभिनेता पुष्पलले देशका मुर्धन्य व्यक्तित्व आबद्ध फिल्ममा आफू जोडिन पाउनु सौभाग्यको कुरा रहेको बताए । उनले आफ्नो पछिल्लो चलचित्र ‘मंगलम’ भन्दा ‘दाल भात तरकारी’ मा फरक भूमिका रहने पनि बताए । अभिनेत्री आँचलले भने दोस्रो पटक एउटै टिमसँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।

मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको मुहूर्त पश्चात् कलाकार हरिवंश आचार्यको बर्थडे सेलिव्रेसन गरिएको थियो ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले मनको कुरा खोले । उनले हरिवंशलाई जन्मदिनको शुभकामना दिँदै हरिवंशकै प्रेरणाले आफू अघि बढेको बताए । उनले, जीवनमा श्रीमती र साथी भए मानिस भाग्यमानी हुने बताए । श्रीमतीलाई सम्झिएर भक्कानिएका मदनकृष्णले आफूसँग हरिवंश रहेको बताए । हरिवंशकै कारणले आफू चल्न र अघि बढ्न पाएको समेत मदनकृष्णले बताए ।

उनले भने–‘हरिवंश स्वस्थ हुँदा म पनि स्वस्थ हुन्छु, हरिवंशले काम गर्दा म पनि काम गर्न सक्छु ।’ मैले जीवनमा एउटा साथी पाएको छु, जसलेगर्दा मलाई पनि काम गर्न जोश आउँछ ।’ मदनकृष्णले यसो भनिरहँदा हरिवंश भावूक भएका थिए ।