‘हर प्रहर, गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

title
आइतवार, कार्तिक ११, २०७५

काठमाडौँ । नेपाल प्रहरीले नागरिक र जनताबीचको सम्बन्ध सुधार गर्दै अपराध न्यूनीकरण गर्न आइतबारबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गरेको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौंसहित मुलुकका ७७ वटै जिल्ला र प्रदेशबाट एकैसाथ सुरु गरेको उक्त कार्यक्रमको आईतबार काठमाडौमा गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभयो ।

‘हर प्रहर, गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारा दिएर अघि बढाइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले समाजको सुरक्षा र शान्तिमा महत्वपूर्ण भूमिका खेल्ने गृहमन्त्री थापाले बताउनुभयो । गृहमन्त्री थापाले समृृद्ध नेपाल र सुखी नेपालीको बाधक नै भ्रष्ट, तस्कर, व्यभिचारी, ठग अपराधी भएको धारणा पनि राख्नुभयो ।

गृहमन्त्री थापाले प्रहरीले सुरु गरेको अभियानको प्रसंशा गर्दै सबै प्रकारका अपराध र अपराधीको निस्तेज र नियन्त्रण गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहँदै आएको जिकिर गर्नुभयो । शान्त र सुरक्षित समाजको निर्माण गर्न नेपाल प्रहरीले थालेको अभियान एक ऐतिहासिक कदम भएको उहाको भनाई छ ।

त्यस्तै प्रहरी प्रमुख सर्वेन्द्र खनालले विगतका कार्यक्रमको समीक्षा गर्दै बदलिँदो अवस्थामा नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो । नागरिक र प्रहरीबीचको सहकार्य र समझदारीबाटमात्रै समाज अपराध र भयमुक्त हुने खनालले बताउनुभयो ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सहयोग, सिसिटिभीलगायत प्रविधिको विस्तार, महिला बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा नियन्त्रण, दाइजो, बालविवाह, छाउपडी, बोक्सी प्रथाको नियन्त्रण आदि समेटिएको छ ।

यसका लागि सरकारी र गैरसरकारी निकायसँग आवश्यक साझेदारी गर्ने प्रहरीको योजना छ । उक्त कार्यक्रम ७ सय ५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडाहरु, २५ सय ४५ प्रहरी इकाई, ३६ हजार निजी तथा सामुदायिक विद्यालय, १० हजार संघसंस्था, ३५ हजार जनप्रतिनिधि, ४० लाख अभिभावक, ४० हजार शिक्षक र ७५ लाख विद्यार्थीमाझ पुग्ने लक्ष्य प्रहरीले लिएको छ ।