हावाबाट विजुली, झलमल्ल गाउँ

title
बिहिबार, जेष्ठ २, २०७६

खविन लुईटेल/पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन भएपछि स्थानीयको दैनिकी फेरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन नपुगेको पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट २० किलोवाट विद्युत उत्पादनपछि सहज भएको स्थानीयले बताए । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हो ।

बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने यस स्थानमा हावाबाट बिजुली उत्पादन हुने प्राविधिकहरुको ठहरपछि बिजुली निकाल्ने तयारी थालिएको थियो । सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिड नामक योजनामार्फत हावाबाट बिजुली निकालिएकोे हो ।

सौर्यबाट ५० किलोबाट र वायुबाट २० किलोवाट गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जनाएको छ । हावा तथा सोलारबाट निकालिएको विजुलीले स्थानीय सर्वसाधारणलाइ मात्रै हैन यस ठाउँमा सञ्चालनमा रहेका उद्योग धन्दालाई पनि सहज भएको छ ।