हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण सुरु

title
शनिबार, बैशाख २१, २०७६

वारा । नेपाली सेनाले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको काम सुरु गरेको छ । बाराको फेटा गाउँपालिका–६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी आजदेखि काम सुरु भएको हो । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले घर निर्माणको शिलान्यास गर्दै तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने बताउनुभयो । सेनाले साउनको मध्यसम्ममा सबै घर निमार्ण सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बनाउने जिम्मा पाएको छ ।

बाराको पुरैनिया, लुहीभरवलीया, हर्दिया, पर्सुरामपूर, तेलगाइ, बेनौली, रमपूर्वा सहित १० ठाउँ र पर्साको चैनपुर र उदयपुरघुर्मीमा गरी १२ ठाउँमा एकैसाथ घर निर्माणका लागि काम सुरु गरिएको छ । छुट्टाछुट्टै ठाउँमा भएकोे शिलान्यासमा उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना थापामगर र भूमी व्यवस्था सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागी छन् । गएको चैत १७ गते आएको हावाहुरीमा परेर २८ जनाको ज्यान जानुका साथै झण्डै २ हजार बढी घरमा क्षति पुगेको थियो ।