‘हिलो कप’मा रमाए दर्जनौं कलाकार

title
बिहिबार, साउन ३१, २०७५

रुज्दै–भिज्दै विपक्षीको पोष्टमा गोल
काठमाडौं । असोज १८ गते सिंगापुरमा सम्पन्न हुन गइरहेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारीस्वरु आयोजकले हालै कलाकारहरुबीचको मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल आयोजना ग¥यो ।

राजधानीको पेप्सीकोलास्थित टाउनप्लानिङमा चलचित्र तथा गीत संगीत क्षेत्रका सर्जकहरुको टोली मैदानमा उत्रियो । मैत्रीपूर्ण फुटबलमा १२ टोलीहरु एक आसमा भिडे । यो कुनै उपाधि जित्ने प्रतियोगिता नभए पनि यही अवार्ड कार्यक्रममा सामेल कलाकार तथा अवार्ड कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पु¥याउने कलाकारहरुको सामुहिक सद्भाव रहेको आयोजकले बतायो ।

उसै त साउनको महिना, प्रायः झरी परिरहन्छ । झरी परिरहने भएकै कारण आयोजकले समेत मैत्रीपूर्ण प्रतियोगिताको नाम नै ‘हिलो कप’ राखेको थियो । निरन्तर झरीका कारण प्रायः यस्ता प्रतियोगिताहरु कमै हुने अथवा स्थगित समेत हुने गरेको भएपनि आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले तोकिएकै समय अर्थात् पूर्व घोषित कार्यक्रमअनुसार प्रतियोगिता सम्पन्न गरेरै छाडे । प्रतियोगिता पनि नाम अनुसारकै भयो । सोही दिन पनि दिनभर झरी परिरह्यो, तर कलाकार भने ओत लागेनन् । झिज्दै–रुझ्दै मैदानमा बल गुडाइरहेँ । विपक्षीको पोष्टमा गोल हान्न उद्यत देखिए । बिहान ७ बजेदेखि शुरु भएको प्रतियोगिता बेलुका ७ बजेसम्म चलिरह्यो ।

प्रतियोगितामा सहभागी १२ टोलीमध्ये पहिलो भिडन्त जनजाती तथा भाषाभाषी गीतका कलाकारहरुले भीएफएक्स टोलीको सामना गरेका थिए । जसमा भीएफएक्स टोलीले ५–३ को गोल अन्तरले जित हासिल गरेको थियो । त्यसैगरी दोस्रो खेलमा नेवारी कलाकार भर्सेस तामाङ कलाकारबीचको भिडन्त पनि निकै रमाइलो बन्यो ।

जसमा तामाङ कलाकारले २–० गोल अन्तरको जित हासिल ग¥यो । यसैगरी तेस्रो खेलमा लोकदोहोरी कलाकारले आधुनिक कलाकारको टोलीलाई पनि २–० कै गोल अन्तरको जित हासिल ग¥यो । त्यस्तै, चलचित्रका कलाकारहरुको फुटबल पनि निकै नै रमाइलो बन्यो । जसमा मेरी मामु टोली र लभ डायरिज टोलीले बराबरी खेले ।

त्यसैगरी चलचित्र कहीँ कतै र राष्ट्रिय कलाकारको टोलीबीच भएको भिडन्तमा राष्ट्रिय कलाकारको टोलीले २–० गोल अन्तरको जित हासिल ग¥यो । त्यसैगरी मोडल संघले आयोजकसँग प्रतिस्पर्धा गरेको खेलमा आयोजक २–१ गोल अन्तरले पराजित भयो । त्यसपछि विजेता टोलीहरु मैदानमा उत्रिएका थिए । उपाधिका लागि खेलाइएको खेलमा मोडलहरुको टोलीलाई पेनाल्टी सुटआउँटमा हराउँदै तामाङ म्यूजिक भिडियो कलाकारले उपाधि जित्न सफल भएको थियो ।

साथै सोही दिन आयोजकले नेपाली गीत संगीत क्षेत्रका हस्ती तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रसिद्ध संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आथित्यतामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डका सहभागीलाई गीत संगीत इतिहासमा पहिलोपटक भव्य सम्मान गरेको थियो ।

कार्यक्रममा संगीतकार तथा रोयल्टी संकलन समाजका महासचिव महेश खड्का, संगीतकार संघका अध्यक्ष शान्तिराम राई, उपाध्यक्ष चेतन सापकोटा, सचिव बसन्त सापकोटा, निर्देशक गिरिराज लामिछाने लगायतको बिशिष्ट आतिथ्यतामा अवार्डमा सहभागी एक हजारभन्दा बढी श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।