१०८ आधारभुत शिक्षकका लागि झण्डै ३५ सय जनाको आवेदन

title
शनिबार, साउन १२, २०७५

बैतडी । शिक्षक सेवा आयोगले बैतडीका विभिन्न आधारभूत विद्यालयमा एक सय ८ जना शिक्षकका लागि दरखास्त आह्वान गरेकोमा आधारभूत तहमा झण्डै ३५ सय जनाको आवेदन परेको छ ।

शिक्षक सेवा आयोगले बैतडी जिल्लाका विभिन्न आधारभूत विद्यालयमा खुल्लातर्फ ५९, महिला १५, दलित महिला एक, आदिवासी जनजाति १३, मधेसी ११, दलित ४, अपाङ्ग तीन र पिछडिएको क्षेत्र दुई गरी जम्मा एक सय ८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

जसका लागि ३ हजार ४ सय ७५ जनाले आवेदन हालेका छन् । शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका अनुसार, खुला तर्फ सबैभन्दा बढी ३ हजार ३ सय ७२ जनाले फारम भरेका छन् ।

महिला तर्फ १६ सय ३, दलित महिलामा ३६, दलित एक सय २७, आदिवासी जनजाती दुई सय ३२, मधेसी एक सय १८, अपागं ७६ र पिछडीएको क्षेत्रमा ८० जनाले दरखास्त हालेका छन् । त्यसै गरी प्रदेश स्तरीय प्रतिस्पर्धा हुनेमा नि.मा.वि. तहमा ९ सय ३४ जना र मा.वि. तहमा ४ सय ५४ जनाले आवेदन हालेको शिक्षा विकास तथा समन्वय ईकाई बैतडीले जनाएको छ ।

आधारभूत तहको एक सय आठ जनाको लागी जिल्लागत प्रतिस्पर्धा हुने र बाँकी बिषयगत रुपमा प्रदेश स्तरिय बिषयगत रुपमा प्रतिस्पर्धा गरिने छ । निमावि र मावि तहको तुलनामा आधारभूत तहमा धेरै आवदेन परेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका अनुसार, आवेदकको परीक्षा आगामी असोजमा हुनेछ ।