१० दिनमा समातिए ७ सय ३० विद्युत् चोर

title
बुधबार, भदौ २०, २०७५

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशव्यापी रुपमा नै विद्युत चोरी नियन्त्रणको लागि तदारुकता देखाएको छ । विद्युत चोरीको समस्या बिकराल बन्दै गएको चौतर्फी गुनासो आएपछि प्राधिकरणले नियन्त्रणका लागि कडा कदम चालेको हो ।  पछिल्लो १० दिनमा मात्रै विद्युत चोरीमा संलग्न ७ सय ३० भन्दा बढी लाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सञ्चालनमा ल्याएको पैसा नलाग्ने ११५१ नम्बरको हटलाइन नम्बरमा समेत देशव्यापी रूपमा नै विद्युत् चोरी भइरहेको भन्दै गुनासो आएको थियो । हरेक शुक्रबार सञ्चालन हुने सो कार्यक्रममा मात्रै एक दर्जन बढी गुनासो चोरीसँग जोडिएका विषय उठेका थिए । प्राधिकरणको ग्राहक सेवा निर्देशनलायका अनुसार प्राधिकरणको स्थानीय वितरण केन्द्र, नेपाल प्रहरी तथा अन्य सरोकार भएका निकाय तथा स्थानीय निकायको जनप्रतिनिधिको सहभागितामा चोरी नियन्त्रण अभियान प्रभावकारी रुपमा सञ्चालन गरिएको छ ।

प्राधिकरणले पछिल्ला दिनमा विशेष गरी तराई मधेसका जिल्लामा चोरी नियन्त्रण अभियान सञ्चालनमा ल्याएको छ । ती जिल्लामा वर्षाको समयमा बढी गर्मी हुने र विद्युत् पनि बढी चाहिने भएकाले चोरी बढेको हुन सक्ने ठहर गर्दै सोही क्षेत्रमा नियन्त्रण अभियान अगाडि बढाएको हो । नियमित विद्युत् चुहावट नियन्त्रणका क्रममा बिजुली चोरी गर्दै गरेको अवस्थामा कारबाही गरेको हो । मुर्गिया, सालझण्डी, बुटवल, देवदहलगायत स्थानमा हुकिङ तथा मिटर बाइपास गरेर विद्युत् चोरी गर्ने ग्राहकलाई कारबाही गरिएको छ ।

गत साउन १ देखि १५ गते अवधिमा चोरीमा संलग्नलाई कारबाही गरेर ३७ लाख ८७ हजार ८९ रुपैयाँ असुल गरिएको छ । ५८ हजार ८ सय ५० ग्राहक रहेको वितरण केन्द्रअन्तर्गत ९.९२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको छ । यस्तै १२.५२ प्रतिशत रहेको चुहावट गत आवमा घटाएर ९.९२ प्रतिशतमा झारिएको छ । विद्युत्को बाँकी महशुल नतिर्ने ग्राहकको पनि लाइन काटेर कारबाही गरिएको ग्राहक सेवा निर्देशनलायले जनाएको छ । यस्तै समयमा महशुल नबुझाउने १२५ घरको लाइन काटेर २३ लाख ९३ हजार २ सय ६७ असुल गरिएको छ । केही ग्राहकको वर्गीकरण सुधार गरी १७ लाख १८ हजार ९ सय ८७ रकम उठाइएको छ ।

वर्षौदेखि महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखेर कारबाही गरी उनीबाट ६३ हजार ८ सय ७२ रुपैयाँ बक्यौता उठाइएको प्राधिकरणले जनाएको छ । तर, ललितपुर र भक्तपुरमा भने पछिल्लो दिनमा पुनः विद्युत् चोरी शुरु भएको छ । ती जिल्लामा गत वर्ष सञ्चालन गरिएको चोरी नियन्त्रण अभियान प्रभावकारी भए पनि पछिल्लो दिमना प्राधिकरणले लत्तो छाड्दा समस्या आएको बताइन्छ । चोरी नियन्त्रण र प्राविधिक चुहावट नियन्त्रण गरेर चुहावटमा कम्तीमा पनि १५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।