११ दिनको अन्तरालमा फेरि बढ्यो इन्धनको मूल्य

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ कायम गरिएको छ । निगमले यो मूल्य अन्तर्राष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ । हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

पछिल्लो १५–२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकोले भाउ बढेको निगमको दाबी छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको पनि आयल निगमले जनाएको छ ।

यसअघि गएको भदौ २० गते पेट्रोलमा १ रुपैयाँ , डिजल र मट्टीतेलमा ३ रुपैया र एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढेको थियो ।