१३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग

title
मङ्लबार, साउन १५, २०७५

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मञ्चले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
मञ्चका अध्यक्ष पञ्चा सिंह र महासचिव आरती लामाको नेतृत्वमा गएको टोलीले सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री थापासंग भेट गरी उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ । पन्तको गत शुक्रबार राति हत्या भएको थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले हत्यामा संलग्नलाई पक्राउ गरिसकेको र संसद्मा पनि बहस चलिसकेकाले कारबाही गर्ने बताएको महासचिव लामाले जानकारी दिए ।
उनका अनुसार मन्त्री थापाले महिलाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउँदै महिलामैत्री कानून बनाउनेसमेत आश्वासन दिए । कानून फितलो भएकाले यसको फाइदा अपराधीले लिइरहेको र महिलाको सुरक्षित बाँच्न पाउने अधिकारसमेत गुमिरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।