१८औं एशियाली खेलकुद, नेपालले जापानको सामना गर्दै

title
मङ्लबार, साउन २९, २०७५

काठमाडौं । १८औं एशियाली खेलकुद प्रतियोगिता खेलहरु आजबाट शुरु भएका छन् । जस अन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो पहिलो खेल आज एशियाली पावरहाउस जापानसँग खेल्दैछ ।

नेपाल र जापानबीचको खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाली टोलीले थाइल्याण्डमा १० दिने विशेष प्रशिक्षण पश्चात इन्डोनेसिया प्रस्थान गरेको हो । विशेष प्रशिक्षणमा सहभागी भएका २९ मध्ये २० खेलाडी इण्डोनेसिया गएका हुन् ।

ओलम्पिक टोलीमा तीन जना सिनियर खेलाडीले खेल्न पाउने प्रावधान अनुसार नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा स्थान बनाएका छन् ।  नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्नेछन् । एशियाली खेलकुदमा नेपाल समूह डी मा परेको छ ।

समूहको दोस्रो खेल नेपालले आगामी बिहीबार भियातनामसँग सोही रंगशालामा खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि शुरु हुनेछ । समूह चरणको अन्तिम तथा तेस्रो खेल नेपालले पाकिस्तानसँग बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ ।