२०० आमालाई प्रोत्साहन भत्ता

title
आइतवार, साउन २०, २०७५

बैतडी । छोरी जन्माएका बैतडीका दोगडाकेदार गाउँपालिकाका २०० बढी आमालाई प्रोत्साहन भत्ता वितरण गरिएको छ । गाउँपालिकाभित्र गत आर्थिक वर्षमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक हजारका दरले भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए।

गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार प्रोत्साहन भत्ता दिने अभियान थालिएको हो । सरकारले अस्पतालमा सुत्केरी भएवापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप चार सय रुपैयाँ दिँदै आएको छ।

स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन सुरु गरेको हो। छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।