४ सन्तान सबै दृष्टिबिहीन र शारिरीक रुपमा अशक्त भएपछि बाबुआमा निराश

title
शुक्रबार, भदौ ८, २०७५

धु्रव ढकाल/सुनसरी । सुनसरीको ईटहरी–२ मा रहेका तामाङ दम्पती लक्ष्मण र मनमायाको दैनिकी आफ्ना आँखा नदेख्ने ४ सन्तानको रखेदेखमा नै वित्ने गरेको छ । तामाङ दम्पतीका दुई छोरा र दुई छोरी छन् । सबै दृष्टिबिहीन र शारिरीक रुपमा अशक्त भएपछि बाबुआमा निराश छन् ।

चार जना सन्तान जन्मदै दृष्टिविहीन भने होइनन् । ७ वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भएको थियो । उनी देख्न नसक्ने भई घरको कोठामा कैदी जीवन बिताउन बाध्य बनिन् । उनीपछि जन्मेका अन्य सन्तान पनि ७ वर्षको अवस्थामा पुग्दापुग्दै अन्यको पनि दृष्टि गुमेको हो ।

मनमाया र लक्ष्मणको कान्छो सन्तानका रुपमा जन्मिएका सन्दीप पनि अन्य सन्तान सरह ७ वर्ष पुगेपछि दृष्टिबिहीन भए । उनी पनि कक्षा– २ मा राम्रोसँग पढ्दा पढ्दै दृष्टिबिहीन बन्न पुगेका हुन् । उनी चाही बोल्न सक्ने भएको कारण संगित सिक्दै छन् ।

बुझ्ने हुदै गए पछि आमाबाबुको जीवन झनै कष्टकर र कहालीलाग्दो बन्दै छ । अहिले कान्छो सन्दीप १३ र जेठी छोरी अस्मिता २७ वर्षका तथा अरु दुई जना २५ र १८ वर्षका छन् । आफ्ना परिवार विचल्लीमा परे पनि सरकारी पक्षबाट भने सहयोग नभएको तामाङ परिवारले जनाएको छ । जेठा र जेठी छोरीको रातो कार्ड बनाए पनि कान्छा र कान्छीको भने बनाउन नमानेको उनले दुखेसो पोखे । रातो कार्ड पाए मासिक २ हजारका दरले भत्ता पाइने भएपनि कार्ड नबन्दा त्यसबाट वञ्चित हुनुपरेको उनको गुनासो छ ।

आफूलाई विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको उनको भनाई छ । चार वटै सन्तानको बिस्तारै दृष्टि गुम्दै जाने, मुर्छा पर्ने, कान नसुन्ने, बोली बन्द हुने र हातखुट्टा समेत नचल्ने भएर पूर्ण रुपमा शारिरीक र मानसिक रुपले अशक्त हुने गरेका छन । राज्यबाट उपर्युक्त सहयोग पाए आफ्ना सन्तानको उपचार र जीवन निर्वाहमा सहयोग पुग्ने परिवारका सदस्यको अपेक्षा छ ।