८ महिने शिशुको हत्याको विरोधमा महोत्तरी बजार बन्द

title
बुधबार, भदौ १३, २०७५

महोत्तरी । आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले महोत्तरीको बर्दिवास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् । उनीहरुले बजार पनि बन्द गराएका छन् । बजार पूर्णरुपमा ठप्प छ । गाडीहरु पनि चल्न सकेका छैनन् ।

औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार हराएकी थिइन् । सन्तोषको पसलबाटै भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेको प्रहरीले जनाएको छ ।

रक्षाबन्धनको दिन पसलमा सामान किन्ने मान्छेहरु आएको मौका छोपी भरतले सन्तोषलाई चिन्छु, भन्दै छोरीलाई काखमा बोकेको र खेलाउँदाखेलाउँदै लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ ।

शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो । तर, प्रहरीले भरतलाई पक्रन नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै आएका छन् ।