​प्रधानमन्त्री बाराको आँधी प्रभावित क्षेत्रमा, राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन

title
सोमवार, चैत्र १८, २०७५

बारा । प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा बारा पुग्नुभएको छ ।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज (सोमवार) दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएको हो । प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया सम्म जानुभएको छ। प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको बताईएकोछ ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारीका अनुसार गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको छ ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गर्नुभएको छ ।