
काठमाडौं। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशहरू सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरू समावेश रहेको बताए । उनले सुकुम्वासीहरूलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको बताए । भूमाफियाहरुको हातमा सरकार गएको महसुस आफूले गरेको बताए ।
उनले भने ‘यो अध्यादेशहरू भित्र कतिपय सकारात्मक कानुन हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसाबले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानुनहरू सकारात्मक छन् । ती सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् । भूमि सम्बन्धीको कुरा सुकुम्वासीहरूलाई जग्गा दिनेकुरा ल्याइएको छ । सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसाबले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरुको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’
सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाए ।