
काठमाडौं। यातायात व्यवस्था विभागले नागरिकहरुले आवश्यकताका आधारमा तत्कालै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्ने गरी निर्देशिका निर्माण गरेको छ ।
सवारी चालक अनुमति पत्र अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने गरी विभागले निर्देशिका बनाएसंगै नागरिकलाई सहजता हुने भएको छ ।
यसअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइने गरेको भएपनि अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।
लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले तीन दिनभित्रै स्मार्ट लाइसेन्स पाउने सक्ने गरी नयाँ निर्देशिका बनाइएको छ । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।
विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिने विभागका निर्देशक गणेशमान सिंह राईले बताए ।