
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा शर्मिला विष्ट पक्राउ परेकी छन् ।
उदयपुर वेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया विष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट चार लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।