
काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नेपाली नागरिक संघ संगठनहरु सहितको नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएको छ । लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न जोड दिएका छन् ।
गणतन्त्रको विकल्प नभएको तर गणतन्त्रलाई संस्थागत गरेर लैजानुपर्नेमा उनीहरुले जोड दिएका छन् । यसका लागि ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’ ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको सुरक्षा गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारा सहित ०६२।६३ को नागरिक आन्दोलनको अगुवाई गरेका नागरिक अगुवाहरु भेला भएका हुन् ।
उनीहरुले २०४६ को जनआन्दोलन र २०६२।६३ को नागरिक आन्दोलनको स्मरण गराउंदै लोकतन्त्र र गणतन्त्र बचाउन जस्तोसुकै नागरिक आन्दोलन गर्न पछि नपर्ने उद्घोष गरेका छन् । धर्ना कार्यक्रममा बोल्दै गत चैत्र १५ गते काठमाण्डौको तीनकुनेमा भएको हत्या, हिंसा, लुटपाट, आगजनी जस्ता अमानवीय कार्य अराजक झुण्डवाट भएको र यसको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्ने नागरिक संघ संस्था र नागरिक अधिकारकर्मीले माग गरेका छन् ।
संविधान सभावाट निर्माण गरिएको संविधान अनुसार देश संचालन भइरहेको हुँदा देशमा कुनै पूर्व राजा, रजौटा नरहेको कार्यक्रमका बक्ताहरुले दावी गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत र सशक्त भएर लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिन आग्रह गरे । समाचार संकलन गर्ने पत्रकारलाई थुन्ने, आगो लगाउने कार्य दण्डहिनाताको पराकाष्टा हो भन्दै उक्त घटनाक दोषीलाई कडा भन्दा कडा सजायको माग पनि अध्यक्ष भट्टराईले गरेका छन् ।
मानवअधिकारकर्मी तथा गैसस महासंघ नेपालका पूर्व अध्यक्ष गौरी प्रधानले मानव अधिकार हननका गतिविधिको निन्दा गर्दै लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताउनु भयो । नागरिक समाज र संगठनका प्रतिनिधिहरुले अराजकता, उद्दण्डता र दण्डहिनाको घोर निन्दा गरेका छन । साथै, उनीहरुले शान्ति, सामाजिक न्याय र सुशासन माग गरेका छन्। दल र सरकारमा भएका कमी कमजोरी सुधार्दै अघि बढ्ने मौका लोकतन्त्रमा मात्र भएको भन्दै अन्य विकल्प नरहेको नागरिक अगुवाहरुको भनाइ रहेको छ।
मानवअधिकारकर्मी चरण प्रसाई, सुवोध प्याकुरेल, सुशील प्याकुरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्द, एटविनका वेनु माया गुरुङ्ग, महिला मानवअधिकार रक्षकका श्याम कुमारी शाह, युवा अभियान्ता नरेन्द्र खतिवडा, काहुराष्टका अध्यक्ष हुकुम पोखरेल, सामाजिक अभियान्ता सुशील वि.क. लगायतका अगुवाहरुले आआफ्ना विचार राख्दै लोकतन्त्र बलियो बनाउन आह्वान गरेका छन् ।
देशमा अस्थिरता पैदा गरि धमिलो पानीमा माछा मार्न खोज्ने तत्वलाई परास्त गर्न सवै लोकतन्त्र र गणतन्त्रवादी एक जुट हुनुपर्ने र गणतन्त्रको जग बलियो बनाउन सामाजिक न्याय, सुशासन, मानवअधिकार, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्नेमा जोड दिंदै समृद्धिको यात्रामा लाग्न पनि धर्नाका आयोजकले आग्रह गरेका छन् । यसैगरी आजै गैरसरकारी संस्था महासंघले ७ वटै प्रदेशमा नागरिक धर्ना दिईरहेको जनाएको छ ।