
काठमाडौं। नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस काठमाडौं अध्यक्ष सबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए। पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन्।
काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।
वडा नम्बर १६ को अध्यक्षमा नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् भने नेकपा एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर उम्मेदवार छन्। एकीकृत समाजवादीका मानन्धरलाई नेकपा माओवादी केन्द्रको पनि समर्थन छ।