
इजरायल–हमास युद्ध चर्किंरहँदा करिब ५० हजार घरबारविहीन प्यालेस्टाइनीले गाजाको अल–शिफा अस्पताल बाहिर शरण लिइरहेका छन्।
इजरायली आक्रमणबाट शरण लिइरहेका मध्ये अधिकांश मानिसहरूको घर ध्वस्त छ। कतारी मिडिया अल जजिराका अनुसार सोलार पावरको सहायताबाट सञ्चालित अल–शिफा अस्पताल कुनै पनि समय बन्द हुनसक्छ। प्यालेस्टाइनीहरू दक्षिण गाजा जानुको साटो अल–शिफा अस्पतालमै उपचाररत छन्।
अल–शिफा अस्पताल बाहिरको अस्थायी टेन्टमा बस्दै आएका प्यालेस्टाइनीहरू अभावै–अभावमा छन्। युद्ध पीडितहरू पिउने पानीको समस्या झेल्दै बाँचिरहेका छन्। उनीहरू पाइपसामु लाइनमा उभिन्छन्।
इजरायलले गाजामा विद्युत आपूर्ति बन्द गरेको छ। मानिसहरू अन्धकारमै रुमल्लिएका छन्। उनीहरू धाराको नुनिलो पानी पिएर बाँच्न बाध्य छन्।
४१ वर्षीया घनिया हनिया आफ्ना पाँच छोरा र तीन छोरीसँग अस्पताल बाहिर बस्दै आएकी छिन्। उनले भनिन्, हामीले टीन र त्रिपालको सहायताले पाल टाँगेका छौँ। हामीहरूले सुरक्षित महसुस गरेका छौँ तर लामखुट्टे र कीराहरूले सताइरहेका छन्।
उनी इजरायली सेनाले आक्रमण गर्दैगर्दा शेख रदवान क्षेत्रबाट भागेर अस्पताल आइपुगेकी हुन्।
अल–शिफा अस्पताल बाहिर छरिएको भीडले शौचालयका लागि ठूलो तनाव खेपिरहेको छ। लामो लाइनमा उभिनु परेको उनीहरूको गुनासो छ। गाजाबासीले भाँडाकुँडा धुन, हात धुन, नुहाउन र पिउनका लागि एउटै पानी प्रयोग गरिरहेका छन्। नुनिलो पानीले नुहाउँदा केही बालबालिकाको शरीरमा घाउ–खटिरा निस्किएका छन्।
अल–शिफा अस्पतालमा बस्दै आएका प्यालेस्टाइनीहरूले खाना र पानीको अभाव छ। उनीहरू एउटा रोटी आधा–आधा बाँडेर खान्छन्। भोक मेटाउन दूषित पानी पिउँछन्, ुआधा पेटमैु अघाउँछन् गाजाबासी। ४१ वर्षीया घनियाले आफ्ना छोराछोरीलाई एउटा रोटी टुक्रा–टुक्रा पारेर खुवाइरहेकी हुन्छिन् ।