
आर्थिक शिथिलताले समस्यामा परेको घरजग्गा व्यवसाय अझै पनि सुध्रन सकेको छैन । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक बनेर बजारमा चहलपहलसमेत बढ्न लागेको भए पनि घरजग्गा कारोबार भने सुधार नभएको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागको किनबेच तथ्याङ्क र बैंकबाट घरजग्गा व्यवसायका लागि हुने ऋण प्रवाहको अवस्थाले घरजग्गा व्यवसाय नसुध्रेको देखाएको हो । व्यवसायीहरू पनि घरजग्गा व्यवसायमा कारोबार नबढेको बताउँछन् ।
झन्डै साढे तीन खर्ब रुपैयाँ कुल पुँजी रहेको घरजग्गा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट कुल ऋणको चार प्रतिशत हाराहारीमा लगानी हुँदै आएको छ । गएको वर्षभन्दा केही बढेको देखिए पनि सुधार भइनसकेको वित्तीय प्रतिवेदनले देखाउँछ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता एवम् निर्देशक वेदप्रसाद अर्याल भू–उपयोग नियमावली संशोधन भएर कित्ताकाटमा सहजता हुँदासमेत कारोबार नबढेको बताउनुहुन्छ । वर्षमा ६८ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन हुने गरेकोमा अहिले आधा पनि नभएको उहाँले बताउनुभयो ।
सहकारीमा आएको समस्याका कारण पनि घरजग्गा कारोबारमा सुधार नभएको व्यवसायीहरू बताउँछन् । घरजग्गा व्यवसाय सुधारका लागि कर्जा आम्दानी अनुपातसँगै ऋणको अनुपात पनि बढाउनुपर्ने नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी बताउनुहुन्छ ।