
धनगढी। कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।
आइतबार राति करिब साढे १० बजेको समयमा सरस्वतीलाई बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।
उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाइ छ । सरस्वतीलाई उपचारका लागि लम्की लगिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
कैलालीका विभिन्न क्षेत्रमा अझै छाउको समयमा गोठमा बस्ने चलन कायमै छ। छाउगोठमुक्त, वडा, पालिका घोषणा गरिए पनि गोठमा बस्ने चलन हटेको छैन।