
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ को बिन्धीमा युवकको हत्याको विरोधमा प्रदर्शनमा सहभागी स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।
जनकपुरधाम–भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयवासीलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।
१५ दिनअघि होलीको दिन जनकपुरधाम–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन् । हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् ।