
ललितपुरको जावलाखेलबाट लगनखेलसम्मका सडक बत्ती दिउँसोको समयमा पनि बलिरहँदा विद्युतको दुरुपयोग भएको छ । जावलादेखबाट लगनखेलसम्म सडकको दुवै किनाराका सडक बत्ती दिनभरि बलिरहेका देखिन्छन् । पटक पटक ललितपुर महानगरपालिकालाई जानकारी गराए पनि बत्ती निभाउन महानगरले बेवास्ता गरेको स्थानीयवासीले बताएका छन् । बाटोमा खटिएका नगर प्रहरीलाई यसबारेमा जिज्ञासा राख्दा यो आफूहरूको नभई सडक विभागको काम भएको भनेर पन्छिने गरेका छन् । ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुलाई पनि टेलिफोन गरेर दिनभर सडक बत्ती बलेको जानकारी गराएको तर निभाउन पहल नभएको कुमारीपाटीका एक पसलेले बताएका छन् । डेढ सयभन्दा धेरै बत्ती दिनभरि बलिरहँदा लाखौँ रुपैयाँको बिजुली यत्तिकै खेर गइरहेको छ ।