
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । प्रान्तको खारान जिल्लाको लिजजय क्षेत्र नजिकै अर्धसैनिक बलको गाडीमा आक्रमण भएको सरकारी अधिकारीले सिन्ह्वालाई बताए । आम चुनावका लागि जिल्लामा रहेको मतदान केन्द्रको सुरक्षामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो । आक्रमणपछि उद्धार टोली प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए । स्थानीय प्रहरीले सडक किनारमा इम्प्रोभाइज्ड विस्फोटक उपकरण राखिएको र रिमोट–नियन्त्रित उपकरणले विस्फोट गरेको बताएको छ । समाचार तयार पार्दासम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।