
धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ।
पाख्रीबास नगरपालिका-३ स्थित पाख्रीबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को१ज २६३९ नम्बरको पिकअप ३ वटा सुँगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।
मृत्यु हुनेमा चालक पाख्रिबास नगरपालिका-९ उत्तरपानीका का ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका-५ का २४ वर्षीय प्रमोद मल्लिक छन्।
सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको हो । चालक तामाङलाई जिल्ला अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए। दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै छ। दुर्घटनामा परेका ३ वटा सुंगुर भने जीवितै छन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।