जोडिनुहोस
बिहिबार, फाल्गुन २२, २०८१
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु, यथार्थपरक बनाउने अर्थमन्त्रीको दाबी

नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु, यथार्थपरक बनाउने अर्थमन्त्रीको दाबी

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२  र८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । आज बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२ र ८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्नु नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त, मूल्य मान्यता आत्मसात गरी बजेट बनाउने र विगत अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए ।

मन्त्रालयहरू र विभिन्न निकायबीच समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।

विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्यता मिलाएर आगामी आवको बजेट बनाउने बताएका छन् ।

अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजना स्थगन गर्दै कार्यान्वयन योग्य योजनामात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।

त्यसैगरी साना योजना रोकेर क्रमागत योजना संख्या घटाउन पनि सुझाव उनले दिए । पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजना मात्र समावेश गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । उनले बजेट सिलिङ ध्यानमा राखेर कार्यक्रम प्रस्ताव गर्न पनि सुझाव दिए ।

 

धेरै टिप्पणी गरिएका