
नेपालमा अभिलेख भएका चराको प्रजाती सङ्ख्या आठ सय ९७ वटा पुगेको छ । मुस्ताङको चैले गाउँमा नयाँ प्रजातीको चरा भेटिएसँगै चराका प्रजातीको सङ्ख्या आठ सय ९७ पुगेको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा। तुल्सी सुबेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा मुस्ताङको चैले गाउँमा नयाँ प्रजातीको चरा फेला पार्नुभएको हो ।
वैज्ञानिक नाम टुरडुस नौमन्नी रहेको चराको नेपाली नाम नेपाल बर्ड रेकर्ड कमिटिले गेरुमुहार चाँचर राखेको छ । मुल रूपमा रुसमा आवासीय रूपमा पाइने र प्रजनन् गर्ने यो चरा चीन, जापान, कोरिया, मंगोलिया र जापानमा पनि पाइन्छ । बसाइसराइको बेला यसले बिशेषगरी मङ्गोलियाको बाटो प्रयोग गरेको पाइएको छ । यो चरा बसाइ सर्ने क्रममा बाटो विराएर नेपाल आएको हुन सक्ने नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा। तुल्सी सुबेदीले जानकारी दिनुभयो ।